
काठमाडौं, (नेपाल समाचारपत्र) । पत्रकार बसन्त महर्जनद्वारा लिखित अनुसन्धानात्मक पुस्तक "लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्यय" शनिबार सार्वजनिक गरिएको छ। बसामि डटकमद्वारा प्रकाशित उक्त पुस्तकको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा. डा. तुलसीराम वैद्यले विमोचन गर्नुभयो।
सो अवसरमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग त्रिविका विभागीय प्रमुख प्रा. डा. मुकुन्दराज अर्याल, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) त्रिविका कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधर, पुस्तकका भूमिका लेखक शुक्रसागर श्रेष्ठ, पुस्तक लेखक बसन्त महर्जनलगायतका वक्ताले पुस्तकको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।
उक्त पुस्तक १ सय ७१ पृष्ठको रहेको छ। पुस्तकमा लुम्बिनीका बारेमा रहेका भ्रम र विवादलाई निवारण गर्ने कार्य लेखकले गर्नु भएको छ ।
(साभार, नेपाल समाचारपत्र दैनिक, २०६२ पुस ३ गते आइतवार December 18th,Sunday , 2005)