- शुक्रसागर श्रेष्ठ
(वरिष्ठ पुरातत्वविद्)
भगवान् बुद्धको जन्मभूमि लुम्बिनीको नाम सुन्ने बित्तिकै कताकता भित्र मनमा शान्तिको अनुभूति हुन्छ । नेपालका एक सपूतले आज विश्वमा शान्ति फैलाउने कार्यमा अमीट छाप छाडेर जान सके । उनको नामको स्मरण र तिनको सौम्य मूर्तिको दर्शनले जो कोही पनि शान्ति चाहने मानवको हृदयमा शीतलताको महसुस हुन्छ । तिनै महामानवले पनि भविष्यमा (आफ्नो महापरिनिर्वाणपछि) लुम्बिनी तीर्थस्थलको रूपमा विकसित हुने कुरा प्रमुख शिष्य आनन्दलाई भनेर गएका थिए । लुम्बिनीले आफ्नो पहिचान धेरै समय इतिहासको गर्भमा विलीन भएर बस्नु परे तापनि थुप्रै सपूतहरूको अथक प्रयासले गर्दा हराएर भने जानु परेन । कतिपय बुद्ध र बुद्धसम्बन्धी स्थलहरू अझै पनि पृथ्वीको गर्भमा छन् । तिनको पुनःप्राप्ति हुन्छ-हुँदैन त्यो त भविष्यले नै बताउन सक्ला तर, लुम्बिनीको परिचय भने अब कतै हराउँदैन । कसैले मेट्न खोज्दैमा मेटिने छैन । कसैले लुकाएर लुक्दैन र कसैले नष्ट गर्न खोज्दैमा पनि नष्ट हुने छैन । एक शताब्दीभन्दा लामो अध्ययन र अनुसन्धानपछि लुम्बिनी यस स्थितिमा पुगेको हो । त्यही पहिचान फैलाउने र त्यसमा स्थायित्व दिने कार्यमा बसन्त महर्जनको यस पुुस्तकले एक अध्याय थपेको छ । भगवानको जन्मपछि लुम्बिनीमा के भयो - तथ्य त्यति थाहा पाइँदैन । तर भगवानको ज्ञान प्राप्तिपछि भने यस स्थानले अवश्य पनि केही न केही रूपमा प्रख्याति र महत्त्व पाइसकेको हुनु पर्दछ । भगवान्को नङ र रौं भएपनि थापेर लगी श्रद्धा गर्ने श्रद्धालुहरूले भगवान्को जन्मथल लुम्बिनीलाई त्यसैं छाडेका थिएनन् होला । विशेष रूपमा श्रद्धा र पूजन गर्दै आएको हुनु पर्दछ । नत्र भने भगवानको महापरिनिर्वाण भएको करीब तीन सय वर्षछि सो स्थानमा आइपुगेका मौर्य सम्राट अशोकलाई भगवान्को जन्मस्थलो देखाउन ल्याइएका भिक्षु उपगुप्तले सोझै 'अस्मिन महाराज हिद बुधे जाते' भनी भन्न सक्ने स्थिति हुँदैनथ्यो होला । उपगुप्तले पहिले पनि सो स्थानको तीर्थाटन गरिसकेका थिए होलान् नत्र अशोकले उपगुप्तलाई नै किन चुन्थे ? उपगुप्तले पनि तिनै जन्मशिलालाई देखाएर उक्त वाक्य बोले होलान् । त्यही जन्मशिलाको महत्त्व थाहा पाएर महाराज अशोकले सो जन्मशिला अन्यथा नहोस् भनी राम्रो व्यवस्था गरी गए । सोही व्यहोरा शिलास्तम्भमा पनि कुँदी छाडे । धेरै वर्षेखि खुट्याउन र अर्थ्याउन नसकिरहेको शिलास्तम्भको 'शिलाविगडभिचा' को अर्थ आज बुद्धजन्म शिला प्राप्त भएपछि त्यसरी नै गरिएको छ । अशोकले त्यतिमात्र लेखेनन् । आज हामीलाई लुम्बिनीको पहिचान गर्न आवश्यक परिचयसमेत केवल ९० अक्षरको छोटो स्तम्भलेखमा पनि पुग्दो गरी विवरण कुँदी गए । लुम्बिनीका बारेमा यथार्थ जानकारी यसै स्तम्भलेखले दिइराखेको छ । लुम्बिनी र बुद्धसम्बन्धी कहाँ, किन, को र के भन्ने प्रश्नहरूको उत्तर यो छोटो अभिलेखले पूर्ण रूपमा दिन सके । स्तम्भलेख किन त भन्दा यहाँ बुद्ध जन्मेकाले (हिदबुधे जाते), कहाँ जन्मेको उत्तरमा लुम्बिनी गाउँमा (लुंमिनिगामे), को जन्मे त भन्दा महामानवको रूपमा शाक्यमुनि (सक्यमुनिती) र शाक्यमुनि के त भन्दा उनी भगवान जन्मे (भगवं जातेती) भनी प्रष्टसँग किटान गरी स्तम्भलेखमा उल्लेख भई दिंदा आज विश्वले महामानवको जन्मस्थलका बारेमा कुनै शङ्का उपशङ्का र द्विविधामा नपरी लुम्बिनीमा श्रद्धापूर्वक तीर्थाटन र पार्थना गर्न पाएका छन् । अशोकका अधिकांश अभिलेखहरू प्रायः एक न एक ठाउ“मा खण्डित वा अक्षर उप्केर अस्पष्ट छन् । तर ठूलो भाग्यको कुरा, लुम्बिनी अभिलेखमात्र एउटा यस्तो अभिलेख हो जुन कुनै खोटबिना बचेर रहेको छ । साथै स्तम्भ पनि यथास्थितिमा खडा भइरहुँदा यसको आधिकारिकता ठूलो छ जसले गर्दा लुम्बिनीका बारेमा कसैले शङ्का उपशङ्का गर्ने ठाउ“ नै छैन । यदि एक दुई अक्षरमात्र खण्डित भएको भए, एक दुई इन्च मात्र पनि स्तम्भ यताउता सरेको र सारिएको भए धेरैले तथ्यपूर्ण लुम्बिनीको दर्शनबाट चुक्नु पर्ने थियो । लुम्बिनीको नाउँमा दोस्रो कुनै कृतिम स्थानमा लुम्बिनीको पूजाअर्चना गरिदै आउने थियो । राष्ट्रियताका हिसाबले भाग्यको कुरा हो सन् १८१६ पछिमात्र लुम्बिनीको पत्ता लाग्नु । यदि सो भन्दा अघि लुम्बिनी पत्ता लागेको भए सीमा पारि गई श्रद्धा गर्न जानुपर्ने स्थिति आउने थियो होला । मन परे पनि नपरे पनि भन्नै पर्दछ लुम्बिनीको पुनः पत्ता लाग्नुमा अङ्ग्रेजहरूको ठूलो हात छ । इसाको अठारौं शताब्दीमा पश्चिमा मुलुकमा भएको वैज्ञानिक खोजको विकास र उन्नाईसौं शताब्दीमा आएको पूर्वीय जगतको धर्म र संस्कृतिको चासोले गर्दा लुम्बिनी पत्ता लाग्न पुगेको हो । यत्रो महत्त्वको स्थल प्राप्त भएपछि पनि तत्कालीन शासक वर्गको अज्ञानता र बौद्ध धर्मप्रतिको वक्रदृष्टिले गर्दा झन्डै आधा शताब्दीसम्म खास केही भयो भन्न मिल्दैन । लुम्बिनीमा विकासप्रतिको चासो तब बढ्यो जब संयुक्त राष्ट्र संघजस्तो विश्व संस्थामा बौद्ध राष्ट्र बर्माका एक नागरिक उ. थान्तले महासचिवको पद सम्हाल्न पुगेर लुम्बिनीको भ्रमण गरे । उनको मनमा लुम्बिनीमा गुरुयोजना बनाई विकास गर्नुपर्ने सोच सन् १९६७ मैं आयो । फलस्वरूप १९७२ मा कार्य थालनी भई १९७८ मा गुरुयोजना तयार भयो । त्यसैअनुरूप विकास कार्यहरू हुन थाले । आजसम्ममा तीनवटा देशले लुम्बिनीमा उत्खनन् कार्य गरिसकेका छन्- नेपाल, भारत र जापान । तिनमा सबैभन्दा बढी समय, लागत र ठूलो परिमाणमा उत्खनन् कार्य जापानले गर्यो । तर दुःखको कुरा, जति ठूलो परिमाणमा उत्खनन् कार्य भयो त्यति नै भारी परिमाणमा अपमान सहनुपर्यो र अपजस पायो त्यस देशले । मायादेवी मन्दिर जिर्णोद्धारबाट पुरै पन्छिन पुग्यो, केबल मूक दर्शकभएर बस्नु पर्यो । मायादेवी मन्दिर उत्खनन् होइन संरक्षण गर्ने मनसायले कार्य सुरू भएको थियो र स्विकृति पनि संरक्षणका लागि पाएको थियो । संरक्षण गर्दै जा“दा उत्खनन् गर्नुपर्ने आवश्यकता महसुस भयो र कार्य गर्दै जाँदा बुद्धजन्म शिला (मार्कर स्टोन) फेला पर्यो । त्यसैअनुरूप संरक्षण गर्न खोजिंदा जापानीपक्षले पेस गरेको योजना अस्विकृत भयो । मन्दिरको डिजायनका सम्बन्धमा धेरै मिटिङ्ग, सेमिनार भए । धेरै बुद्धि खियाइए । धेरै मेहनत र चर्का वादविवाद भए । धेरै खर्चालु बैठकहरू पनि भए । तर कहिल्यै एक मतमा मात्र होइन, बहुमत सम्ममा पनि पुग्न सकेनन् । आखिर बौद्ध जगतको दवाव पर्यो भनी ठूलै थैली खर्च गरी मायादेवी मन्दिरको पुननिर्माण कार्य भयो । भयो त भयो तर जापानी भाइले पहिला सोचेजस्तै भयो । केबल जन्मशिला छोपेर होइन, उघारेर भयो । अन्य सबै डिजाइन र आकारप्रकार जापानी भाइकै विचार र योजनामा सोचिएजस्तै भयो । सक्कली जन्मशिला छोपेर त्यसको प्रतिकृतिमा मात्र पूजा गराउने जापानी भाइको सोचाइमा त्यसो नगरी सक्कली जन्मशिलामा नै पूजा गर्न पाउने गरी मन्दिरको पुननिर्माण कार्य भयो । बाहिरबाट देखिने वास्तु पर्ूवरूपमै बनाउने योजना जापानी पक्षबाट पनि भएकै थियो । लुम्बिनी क्षेत्रको विकासका निम्ति Buddhism र Tourism एकै रथका ISM रूपी दुई पाङ्ग्रा हुन । आज दिल खोलेर भन्नु पर्दा पर्यटनको विकास र यसको आर्थिक पक्ष सबल नहुँदो हो त लुम्बिनीको विकासमा सोच्नु पनि दिवास्वप्न मात्र हुने थियो । लुम्बिनीलाई धार्मिक र पुरातात्त्विक स्थलभन्दा आर्थिक दृष्टिले बढी हेरिने गरिन्छ । यो तीतो सत्य हो । नत्रभने संयुक्त राष्ट्रसंघको महासचिव जस्तोको नेतृत्वमा सुरु भएको योजना प्रो. केन्जो टांगेजस्ता विश्वविख्यात वास्तुविद्ले तयार पारेको वास्तु देशको उच्चस्तरको नेतृत्वमा सञ्चालित गुरुयोजना लक्ष्यअनुसार पूरा नभई आज झन्डै तीन दशक बितिसक्दा पनि तयार पार्न नसकेकोमा हामीले शिर निहुराउनै पर्छ । त्यसमाथि पनि लुम्बिनीलाई विश्व शान्तिको मुहान, विश्वशान्ति नगर जस्ता विशेषणले पोत्ने तर त्यसै स्थानमा विश्वशान्ति स्तूप बनाउ“दै गरेका नावातामे भिक्षु जस्तो मारिनु, लुम्बिनीको विकास गर्न गठित संस्थाका जिम्मेवार व्यक्तिहरूबाटै मादकपदार्थ सेवन गरी बुद्धको मूर्तिमा सुँगुरको मासु कोचिंदा पनि विदाको दिन घटेको घटनामा ऐन लाग्दैन भनी कुनै कारवाही नहुँदा बुद्ध र बुद्ध धर्मका नाउँमा हामीले लाज मान्नै पर्दछ । जापान बौद्ध समाजले प्रकाशन गरेको लुम्बिनी मायादेवी मन्दिरको उत्खनन् प्रतिवेदन २००५ मा जापानीसहित भारतीय र पाकिस्तानी विद्वानहरूको प्रतिवेदन समावेश हुनु तर नेपालको तर्फाट भने केवल सहभागीका रूपमा मात्र नाम आउ“नु दुःख लाग्दो कुरा छ । सन् १८९६ देखि सुरु भएको लुम्बिनीको उत्खननबाट धेरै पुरातात्त्विक वस्तुहरू फेला परिसके होलान् । सन् १९३९ अघिका ती वस्तुहरूको थोरैमात्र फोटो छापिएका छन् । सन् १९६४ देखि भएका उत्खनन््हरूको केवल उत्खनन््कर्ताहरूले आआफ्नो पाराले लेखरचनामा मात्र उल्लेख गर्न पुगेका छन् । एकै ठाउ“मा सङ्कलन गरी एकमुष्ट रूपमा विश्लेषणात्मक अध्ययन अझै हुन सकेका छैनन् । ती सामाग्री कुन कता छन् भन्न गार्हो भइसकेका छन् । अधिकतर उत्खननकर्ताहरू यस संसारबाट बिदा पनि भइसकेका छन् । यर्सथ नयाँ पिंढीका अन्वेषकहरूले यसतर्फपनि सोच्ने र अध्ययन गर्ने बेला भइसकेको छ ।भनिन्थ्यो, केशरशमशेरले लुम्बिनीमा तहस नहस गरे । केशर शमशेरले थुपारेर गएका दुई ढिस्कोको उत्खनन भएको पनि वर्षौ बितिसके । तर खोइ त - त्यहाँ के निस्के के पाइए कुनै प्रतिवेदन कतैबाट पनि प्रकाशमा आएन । केशरशमशेर अज्ञानी र ध्वंसक भए तिनको भूलले धेरै सामाग्री ती ढिस्कोमा मिसिन जान्थे होलान् । तर केही ननिस्कनुमा केशरशमशेरको सावधानी र विद्वता झल्किन्छ । केवल अरुलाई दोष दिएर मात्र भएन । मायादेवी मन्दिरको सिधा उत्तर केशरशम्शेरद्वारा थुपारिएका तत्कालीन थुप्रो झिकेपछि दोस्रो ८० मि. वर्गाकारको दक्षिण पश्चिमबाट मायादेवी मन्दिरकै Alignment मा ठूल्ठूला पर्खाल निस्किंदा पनि कुनै पुरातात्त्विक चासो नहुनु अनि त्यसै ठाउँमा ठूलो शिलाको पुरातात्त्विक वस्तु त्यसै फ्याकिएको अवस्था देखेर युनेस्कोका विज्ञहरूले चित्त दुखाई जानु पनि स्वाभाविकै हो । उत्खनित सामाग्रीको पहुँचबाट टाढै बसी अध्ययन गर्न वाध्य भएकोले पनि होला यस पुस्तकका लेखक प्रारम्भिक स्रोतको विश्लेषणात्मक अध्ययन र गहिराइसम्म पुग्न सकेको देखिएन । फोटो, लेख र लिखित स्रोतको भने हदैसम्म गहिरिएर अध्ययन गरेको पाइन्छ । अन्य लेख र प्रकाशनहरूबाट चिरफार गरी सारेरै ल्याएको भएतापनि लेखकले आफ्नो विचार र विश्लेषणात्मक क्षमता पदर्शन गर्न चुकेका छैनन् । लेखकको प्रथम प्रयास हो, भविष्यमा हुने अध्ययनमा थप गहनता बढ्दै जानेछ । हालसालैको एउटा प्रकाशन (हसना मासिक, अंक १, वर्ष२, २०६२) को सानो लेखमा यस पुस्तकका लेखकद्वारा लेखिएको 'लुम्बिनी- विश्वशान्ति सहर : हतारको निर्णय पनि समयसापेक्ष आलोचना भनौं वा समालोचना, सत्य र तथ्यपूर्ण छ । यसले लेखकको लुम्बिनीमाथिको गहन अध्ययनको छनक दिन्छ । लेखकले भविष्यमा लुम्बिनीका बारेमा कलम चलाउ“दै जानेछन् भन्ने दरिलो आशा हो ।यस देशमा धेरै विद्वान््हरू जन्मे । धेरैलाई लुम्बिनीका बारेमा थाहा छ । लुम्बिनीका नाउ“मा धेरै सेमिनार भए, धेरै पुस्तक लेखिए अथाह लेखहरू प्रकाशनमा आए तर ती सबै छरिएर प्रकाशन भए र अधिकतर लेखहरू अङ्ग्रेजीमा छापिए । देशमा रहेका नगण्य अङ्ग्रेजी जान्नेहरूले मात्र अध्ययन गर्न पाए । नेपाली भाषामा लुम्बिनीका बारेमा यति गहन पुस्तक लेख्न कसैको कलम अघि र्सन सकेको थिएन । दिवङ्गत भिक्षु सुदर्शन महास्थविरको हौसला र सानिध्यमा लेखकले लुम्बिनीको गहन अध्ययन गरे । पछि यसै विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्वको आचार्य तह उत्तीर्ण् हुन शोधकार्य पनि गरे । त्यही शोधग्रन्थमा थप अध्ययन र अनुसन्धान गरी पुस्तकका रूपमा प्रकाशनमा ल्याई दिंदा लुम्बिनीसम्बन्धी जान्न खोज्ने तर अङ्ग्रेजी नजान्ने लाखौं पाठकका लागि यस पुस्तकले ठूलो टेवा दिनेछ । नेपाली भाषामा लुम्बिनीसम्बन्धी यति गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा आएको छैन । देशका कतिपय श्रद्धालु, विद्यार्थी जनसाधारण जो कसैले पनि यदि अङ्ग्रेजी जान्दैनन् भने लुम्बिनीका बारेमा गहन अध्ययनबाट बञ्चित हुनु परिरहेको थियो । यस कमीलाई लेखकले पूरा गरिदिएका छन् ।
२०६२/८/१कीर्तिपुर
२०६२/८/१कीर्तिपुर