Pages

‘गन्तव्य लुम्बिनी’ प्रकाशित

‘लुम्बिनी भ्रमण वर्ष–२०१२’ लाई मध्यनगर गरी लेखक तथा अनुसन्धानकर्ता बसन्त महर्जनद्वारा तयार पारिएको पुस्तक ‘गन्तव्य लुम्बिनी’ इन्साइट पब्लिकेशनबाट प्रकाशन भएको छ । पुस्तकमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा उनले २९ वर्षसम्म जीवन बिताएको प्राचिन कपिलवस्तु राज्य तथा ससुराली कोलिय राज्यको राजधानी देवदहको पुरातात्विक तथा पर्यटकीय दृष्टिकोणबाट जानकारी प्रस्तुत गरिएको छ ।
बौद्ध इतिहास र पुरातत्वका विविध पक्षमा अध्ययनअनुसन्धानमा संलग्न लेखक महर्जनले यसअघि ‘लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक  अध्ययन’ र ‘गौतम बुद्ध’ शीर्षकका दुई अनुसन्धाननमूलक पुस्तक प्रकाशनमा ल्याइसकेका छन् । यसरी नै विभिन्न बौद्ध वाङ्मयमा छरिएर रहेका बुद्धद्वारा प्रथम पुरुषमा बताइएका जीवनका घटनाहरू संकलन तथा सम्पादन गरेर ‘बुद्धको आत्मकथा’ पनि यस अघि नै प्रकाशित भइसकेको छ ।
विशेषतः पर्यटकीय दृष्टिकोणबाट लेखिएको यस ‘गन्तव्य लुम्बिनी’ पुस्तकमा लुम्बिनी क्षेत्रका रुपमा लुम्बिनी, कपिलवस्तु तथा देवदहलाई समेटेको छ । यस क्षेत्रमा कहाँ, के हेर्ने र त्यसको महत्व के रहेको छ भन्ने सन्दर्भमा नेपाली भाषामा उपयुक्त पुस्तकको अभावलाई दृष्टिगत गरी ‘गन्तव्य लुम्बिनी’ तयार पारिएको हो । यसरी नै सम्वन्धित ठाउँका ४२ वटा तस्वीरहरू पनि समावेश गरिएका छन् ।
प्रकाशित पुस्तकमा लेखकले विभिन्न पर्यटकीय स्थलहरूको सामान्य परिचयका साथै कतिपय पक्षलाई प्रकाश पार्ने क्रममा पूर्ववर्ती धारणाहरूको खण्डन तथा आफ्नो निष्कर्ष समेत व्यक्त गरेका छन् । विभिन्न समयमा प्रकाशित लेखकका लेख रचनाहरू प्रकाशित पुस्तकको परिशिष्टमा समावेश गरिएको हुँदा पुस्तक सर्वसाधारणका साथै प्राज्ञिक वर्ग, पर्यटन व्यवसायी, टुरिष्ट गाइड तथा पत्रकारहरूका लागि पनि महत्वपूर्ण हुने विश्वास गरिएको छ । लेखक हाल पनि यस क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणबाट थप अध्ययनमा संलग्न छन् ।